काठमाडौं, १९ माघ (एजेन्सी)। जुन उमेरमा बालबालिकासँग खेलौना हुनुपर्ने, त्यो उमेरमा ९ वर्षको बच्चासँग पैसा मात्र छ । उनी साधारण होइन, अर्बपति बालक हुन् । सामाजिक सञ्जालमा निकै चर्चित उनलाई धेरैले मोम्फा जुनियर भन्छन् ।
आफ्नै निजी हवाईजहाजमा संसार घुम्छन् । उनीसँग थुप्रै बंगला र सुपरकारहरू पनि छन् । आज हामी तपाईलाई संसारकै कान्छो अर्बपतिको बारेमा बताउन गइरहेका छौँ, जसको जीवनशैली अलि फरक छ । उनी हुन् नाइजेरियाका संसारकै कान्छा अर्बपति भनेर चिनिने मोहम्मद अवाल मुस्तफा ।
भर्खर नौ वर्षका भएका उनका इन्स्टाग्राममा ३९ हजार ४ सय जना फलोअर्स छन् भने जम्मा ६ वटा फोटो हालेका छन् । ती फोटो उनले विभिन्न ब्रान्डका गाडी, महँगा कपडा र हवाईजहाजमा बसेर खिचाएका हुन् ।
उनी सानो उमेरमै धनी हुनुको कारण उनका बुबा हुन् जसका लागि उनी सधैं आभारी रहने बताउँछन् । सन् २०१९ मा मोम्फा जुनियर ६ वर्षको हुँदा उनलाई उनका बुबा इस्माइलिया मुस्ताफाले बंगला उपहार दिएका थिए । उनका बुबाले सामाजिक सञ्जालमा आफ्ना छोरालाई बंगला उपहार दिएको उल्लेख गरेका छन् । उनको दुबई, लाओस र युएईमा घरहरू छन् ।
एउटा इन्स्टाग्राम पोस्टमा मोम्फा जुनियर र उनकी सानी बहिनी फतिमा दुवैले भर्साचे क्लोथिङ ब्रान्डको कपडा लगाएको देखिन्छ । यसले उनीहरूको दैनिक जीवनको झलक दिन्छ ।
द मिररका अनुसार मोम्फा जुनियरका बुबा मुस्ताफा गत महिना पक्राउ परे । उनीमाथि आफ्नो कम्पनी इमालोब ग्लोबल इन्भेस्टमेन्ट लिमिटेडबाट ७ करोड ९० लाख डलर ठगेको आरोप छ । उनीमाथि साइबर अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा समेत छ । अदालतले मुस्तफालाई हिरासतमा राख्न आदेश दिएको छ ।