प्रधानमन्त्री देउवाले भने, ‘एमसीसीमा संशोधन गर्नुपर्ने बुँदा के के हो ? मलाई उपलब्ध गराउनु’
अखबार टुडे
प्रकाशित:
२०७८, १९ माघ

काठमाडौं, १९ माघ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने मुडमा रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा संशोधन गर्नुपर्ने बुँदा उपलब्ध गराउन सत्तारूढ दलका दुई अध्यक्षसँग आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही भए छन् भने त्यो उपलब्ध गराउन भनेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी सम्झौतामा केके सुधार गर्नुपर्ने हो, मलाई उपलब्ध गराउनु ।’ एमसीसीको विवादित बुँदा संशोधन नगरि यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने अडानमा रहेका प्रचण्ड र अध्यक्ष नेपाल बुधबार एमसीसी र आगामी स्थानीय निर्वाचनबारे छलफल गर्न बालुवाटार पुगेका थिए । सो क्रममा एमसीसीका कारण गठबन्धन नटुट्ने समेत उनीहरुबीच प्रतिवद्धता जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

‘एमसिसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सिन्धुपाल्चोकका नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गराउने कार्यक्रममा भने, ‘एमसिसीका सन्दर्भमा आज बालुवाटारमा छलफल गरिएको थियो ।’

उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत दोहोर्याए । अध्यक्ष नेपालले भने, ‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन् । तर गठबन्धन टुट्दैन ।’

आफूले बुधबार बिहान प्रचण्डसँग पनि कुराकानी गरेको बताउँदै उनले भने, ‘स्थानीय निर्वाचन पनि गठबन्धन एकसाथ अगाडि बढ्छ ।’ बुधबार नै अध्यक्ष नेपालले आफ्नो निवासमा गृहमन्त्री बालकृष्ण खाणसँगसँग पनि छलफल गरेका थिए । एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाएका थिए ।

‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौँ भनेर केपीले भन्दा रहेछन्,’ उनले भने, ‘हामी गलत तरिका अपनाउँदैनौं । सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं । कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिदैनौँ

प्रतिक्रिया