रातिदेखि पश्चिमी वायुको प्रभाव बढ्ने, शनिबारसम्म मौसममा सुधार नहुने
अखबार टुडे
प्रकाशित:
२०७८, १९ माघ

काठमाडौं, १९ माघ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकामा आज रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको अनुमान गरेको छ ।

सो प्रणालीको प्रभावले आगामी शनिबारसम्मै बदली, वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ ।

कुन दिन, कहाँ, कस्तो प्रभाव पर्छ ?
आज राति देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश नं १, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना महाशाखाले जनाएको छ ।

शुक्रबारको दिन देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा असिना सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । मौसमविद पौडेलले मध्यम खालको असिना पर्न सक्ने बताए ।

यस दिन देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

शनिबारको दिन गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै उक्त प्रदेशका पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया