काठमाडौं, १८ माघ । मोरिससविरूद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको निकै तनावपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले हराएको हो ।
नेपालका लागि खेलको ११औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । लगत्तै मरिससले बराबरी गर्ने अवसर पाए पनि चुक्दा नेपालले जितेको हो । मरिससका कप्तान एन्डी सोफीले १३औं मिनेटमा पाएको पेनाल्टी प्रहार कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफमा नेपालले एक गोलको अग्रता लिएको खेलको दोस्रो हाफ भने तनावपूर्ण रह्यो । दोस्रो हाफमा नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । खेलको ७० औं मिनेटमा दुवै टिमका खेलाडीबीच हात हालाहालको स्थिति भएको थियो ।
दुवै टोलीका खेलाडीले घम्साघम्सी गरेपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । यस्तै नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट गए । यस्तै रेफ्री नविन्द्र महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्ड देखाए ।
खेलको ८० औं मिनेटमा मोरिससका इमानुल फुलचन्ड भने दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । नेपाल १० खेलाडी र मरिसस ९ खेलाडीमा सीमित रहेको खेलमा अन्य दुवै टोलिका खेलाडिले पनि पहेंलो कार्ड पाएका थिए ।
शारीरिक द्वन्द्वमा परिणत भएको खेलमा पर्याप्त प्रकाश नभएपछि रेफ्री नवीन्द्रले १० मिनेट खेलका लागि रोकेका थिए । यस जितपछि नेपालले दुई खेलको शृंखलाका दुवै प्रतिस्पर्धा जितेको छ । नेपालले पहिलो खेल पनि समान १–० ले जितेको थियो ।