जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको संकेत, आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, १८ माघ

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

सोमबार बागमती प्रदेश कांग्रेसका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले यस्तो बताएका हुन् । उनले जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने र त्यसका लागि तयारी सुरु गर्न समेत निर्देशन दिए । ‘जेठ ४ गते स्थानीय तह चुनाव गर्ने तयारी छ’ प्रधानमन्त्री देउवाले बागमती प्रदेश कांग्रेसका पदाधिकारीसँग भने, ‘तपाईंहरूले पनि आफ्नो ठाउँबाट तयारी थाल्नुस् ।’

जेठ ५ अगाडि नै स्थानीय तह निर्वाचन गर्ने गरी सरकारले परामर्श गरिरहेको प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ ।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् । उक्त छलफलपछि सरकारले स्थानीय तहको निर्वाचन मिति तय गर्ने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते देशभरका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया