खोप कार्ड अनिवार्य बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
प्रकाशित:
२०७८, १८ माघ
काठमाडौं, १८ माघ । सार्वजनिक स्थानमा जाँदा वा सेवा लिन खोप कार्ड अनिवार्य देखाउनुपर्ने सरकारको आदेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार मंगलबार अधिवक्ता सल्लु तिवारी लगायतले रिट दायर गरेका हुन् ।
नेपालमा अहिलेसम्म कतिपयले खोप लगाउन नपाएको अवस्था रहेको र खोप कार्ड नहुँदा सार्वजनिक सेवा लिनबाट बञ्चित हुने भन्दै रिटमा सरकारको यो आदेशले संविधान र कानुनले दिएको हक बञ्चित हुने भएकाले आदेश बदर गर्न माग गरिएको छ ।
सरकारले सबै जनतालाई खोप उपलब्ध गराइनसकेको हुँदा यस्तो आदेश जारी गर्न नमिल्ने रिटमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले केही दिनअघि सार्वजनिक सेवा लिन सबैले खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य आफ्नो साथमा राख्न आदेश दिएको छ ।
प्रतिक्रिया