काठमाडौं, १८ माघ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ ।
युक्रेनसँगको आफ्नो सिमानामा रुसले एक लाखभन्दा धैरै सेना परिचालन गरेको भन्दै अमेरिकाको आग्रहमा बसेको सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी र अमेरिकी राजदूतबीच चर्काचर्की भएको हो ।
सो क्रममा अमेरिकी राजदूत ग्रीनफिल्डले रुसले पछिल्लो दशककै सबैभन्दा धेरै सैनिक परिचालन गरेर स्वतन्त्र देश युक्रेनको अस्तित्वमाथि धावा बोलिरहेको आरोप लगाएको खबरमा उल्लेख छ । उनले अमेरिकाले समस्याको कुटनीतिक समाधान चाहेको र रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको निर्णयक जवाफ दिने चेतावनी दिए ।
बैठकमै अमेरिकी र बेलायतका प्रतिनिधिले रुसले युक्रेनमाथिको दमन अन्त्य नगरे आर्थिकसहितका थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
यता रुसी समकक्षीले भने अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए । उनले युक्रेन मामिलामा नचाहिँदो हल्ला फैलाएर विश्वलाई आतङ्कित बनाइरहको पनि आरोप लगाए ।
रुसले तालिमको लागि आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको साथै युरोपले आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । उनले युक्रेनविरुद्ध आक्रमणको तयारी गरेको कुनै प्रमाण देखाउन चेतावनी दिए ।