काठमाडौं, १८ माघ । सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । तर, औपचारिक रुपमा घोषणा गरिएको छैन । सरकारले अहिले स्थानीय चुनावबारे निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ ।
आयोगले जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । यदि जेठ ५ भन्दा पर सारिएको भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।
सम्भवतः मंगलबार आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय गर्न सक्ने एक मन्त्रीले बताए । उनका अनुसार कानुन संशोधन गर्न नपर्ने भए जेठ ५ भित्रै स्थानीय तह चुनाव गर्न सकिने छ ।
केही संविधानविद्हरूले भने स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने सुझाव सरकारलाई दिएका थिए । हालै बसेको सत्तारूढ गठबन्धन बैठकमा पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति बनेको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार स्थानीय सरकारमा निर्वाचित सदस्यहरूको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदैछ ।