सञ्चारमन्त्री कार्कीलाई क्वाटर अगाडि नै अनेरास्ववियुका विद्यार्थीले देखाए कालो झण्डा
अखबार टुडे
प्रकाशित:
२०७८, १८ माघ

काठमाडौं, १८ माघ । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट आफ्नो कार्यालय जाने क्रममा ललितपुरमा नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी गरेका थिए ।

यसअघि सोमबार साँझा स्थानीय तहको निर्वाचन गर्न माग गर्दै अनेरास्ववियूका विद्यार्थीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका थिए । काठमाडौं प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्याम्पस (आर.आर) र पुतलीसडकस्थित शंकरदेव क्याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘स्थानीय तहको निर्वाचन तुरून्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ नारासहित प्रदर्शनमा उत्रिएका हुन् । पछिल्लो समय निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको छ ।

यता, सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया