काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने पक्षमा पुगेका छन् । तर, अन्य सत्ता साझेदार दलहरु सहमत हुन सकेका छैनन् ।
सोमबार प्रधामन्त्री देउवासँग सत्ता गठबन्धन दलहरुमध्ये नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेट गरेका छन् । एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र नेपालले एमसीसीको विवादित बुँदा संशोधन गर्नुपर्ने बताएका थिए ।
बालुवाटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने बताएका थिए । प्रचण्डको उक्त प्रस्तावमा एकीकृत समाजवादी अध्यक्ष नेपालले समर्थन जनाएका छन् । उनीहरु दुवै जना विवादित बुँदा संशोधन गर्नुपर्ने अडान रहेका छन् ।
त्यसो त माओवादी अध्यक्ष प्रचण्डले सुरुदेखि नै एमसीसीका विवादित बुँदा परिमार्जन गरेरमात्र अनुमोदन गर्न सकिने बताउँदै आएका छन् । सोमबार पनि प्रचण्डले उक्त आफ्नो अडान दोहो¥याएका हुन् ।
माओवादी केन्द्र संशोधनबिना एमसीसी पारित गर्न नहुने पक्षमा छ । सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित गर्न नहुने माओवादी केन्द्रले अडान राख्दै आएको हो ।
माओवादीमा एमसीसी पारित नै गर्न नहुने मत बलियो छ । गठबन्धन छोड्नु परे पनि एमसीसी अनुमोदन गर्न नहुने माओवादी नेताहरु बताइरहेका छन् । तर, गठबन्धन दलकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा भने एमसीसी पारित गर्नुपर्ने पक्षका रहेका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार मात्र ‘एमसीसी पारित नगरे फिर्ता जाने र गठबन्धन तोडिने’ बताएको भन्ने खबर बाहिर आएको थियो । तर, त्यसलगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले त्यस्तो नभएको स्पष्ट पारेका थिए । उनले ट्विट गर्दै भनेका थिए, ‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’