काठमाडौं, १७ माघ । क्यानडा सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकहरूका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरेपछि त्यसको विरोधमा भएको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ ।
प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल सरकारले ज्यानुअरी १५ तारिखमा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो । त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ ।
सो नियम ल्याएपछि राजधानी ओटावामा भएको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सहभागी भएका छन् । साथै अहिले अन्य माग पनि थपिएका छन् ।
प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् भने कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।
प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ । यस्तै, प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री ट्रुडोले परिवारसहित घर छाडेका बीबीसीले जनाएको छ । तर, उनी घर छाडेर कहाँ ग्यो भन्नेबारे केही खुलाइएको छैन ।
प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई ‘सानो सङ्ख्याका अल्पसङ्ख्यक’ टिप्पणी गरेका थिए । तर, अहिले प्रदर्शन व्यापक हुँदै गएको छ भने प्रदर्शनमा नागरिकले पनि साथ दिएका छन् ।