काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी समझौतालाई आलटाल नगरी पारित गर्नुपर्ने बताएका छन् ।
उनले संसदबाट सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने सामाजिक सन्जालमा मार्फत धारणा सार्वजनिक गरेका हुन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै सबै एकमुख भएर एमसीसीबारे जनतालाई बुझाउनु पर्ने पनि बताएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’
भट्टराईले थप लेखेका छन्, ‘एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’
सत्ता गठन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने बताउँदै आएका छन् ।