काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने सहमति नभएको स्पष्ट पारेका छन् ।
‘एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ’ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको समेत उनले जिकिर गरे । केही अनलाइनमा ‘प्रधानमन्त्रीले एमसीसी पास नगरे फिर्ता जाने र गठबन्धन तोडिने बताएको’ जस्ता समाचार आइरहेका बेला नेता श्रेष्ठको यस्तो भनाइ आएको हो ।
‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।
नेकपा माओवादी केन्द्रमा श्रेष्ठले एमसीसी अहिलेकै अवस्थामा पारित हुन नहुने अडान राख्दै आएका छन् भने माओवादीले पार्टी बैठकबाटै यथास्थितिमा एमसीसी पारित हुन नसक्ने धारणा राख्दै आएको छ ।