प्रहरी अनुसन्धान : उखुबारीमा गाडिएको अवस्थामा भेटिएका दुवै जना ‘जग्गा दलाली गर्थे’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ

विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा खाल्डोमा भेटिएका दुवै शवको पहिचान खुलेको छ । उनीहरु साथी र दुवै जना घरजग्गा कारोबारी (दलाली) रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उखुबारीमा गाडेको अवस्थामा प्रहरीले गएको बुधबार राति एकजना र बिहीबार दिउँसो अर्को शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो ।

यस्तै अघिल्लो दिन बुधबार खाल्डोबाट उत्खनन गरिएको शव सप्तरी घर भएका शम्भु चौधरीको रहेको पुष्टि भएको मोरङका एसपी जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार उनीहरु साथी रहेको र जग्गा कारोबारमा संलग्न रहेको खसमेत खुलेको हो ।

चौधरी सप्तरीको शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । उनी काठमाडौंको क्षेत्रपाटी बस्थे । प्रहरीको अनुसन्धानअनुसार बिहीबार अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठसँगै उनी काठमाडौंबाट मोरङ गएका थिए । तर, राजेन्द्रका परिवारले चौधरीलाई कहिल्यै पनि सँगै हिँडेको नदेखेको प्रहरीलाई बताएका छन् ।

४९ वर्षका राजेन्द्रकुमार श्रेष्ठ र चौधरी काठमाडौंबाट एक महिनाअघि सँगै बिराटनगर गएको प्रहरीको अनुसन्धानबाट थाहा भएको हो ।
श्रेष्ठ भक्तपुरको लोकन्थलीमा परिवारसँग बस्थे । उनका पारिवारका अनुसार राजेन्द्रकुमार श्रेष्ठ बेला–बेला हराइरहन्थे, ८–१० दिनमा घर जान्थे । उनीहरुको हत्या विराटनगरमै भयो अथवा अरु जिल्लामा हत्या गरेर त्यहाँ ल्याएर पुरिएको थियो भन्नेबारे खुल्न सकेको छैन् ।

‘बिराटनगर र अन्यत्र जिल्लामा पनि हत्या गरिएको हुनसक्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने । सँगै विराटनगर गएपछि उनीहरु त्यहाँ कहाँ कहाँ बसेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया