
काठमाडौं, १६ माघ (एजेन्सी) । सन् २०१७ मा संयुक्त राष्ट्रसंघका दुई विज्ञहरुलाई मारेको आरोपमा ५१ मानिसलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सो आरोपमा डेमोक्रेटिक रिपब्लिक कंगोको सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
कंगोको कसाई प्रान्तस्थित सरकारी सेना र विपक्षी समुहविच भएको हिंसा अनुसन्धानमा खटिएका राष्ट्रसंघका विज्ञ जाइदा क्याटलान र माइकल सार्पको सन् २०१७ मार्च महिनामा हत्या भएको थियो । हत्या भएको १६ दिनपछि उनीहरुको शव फेला परेको थियो ।
उनीहरु सन् २०१६ देखि २०१७ मार्चसम्म भएको हिंसाबारे अनुसन्धानमा खटिएका थिए । सो समयावधिमा करिब ३४ सय मानिसको हत्या भएको थियो भने हजारौंले बासस्थान छोडेको थिए ।
त्यहाँको विपक्षी शसस्त्र समुहले उनीहरुको हत्या गरेको पुष्टि कंगोस्थित कनाङ्गा सैन्य अदालतले गरेको थियो । सो पुष्टि भएपछि सैन्य अदालतले ५४ आरोपितमध्ये ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।
कंगो सरकारले सन् २००३ मा मृत्युदण्डको सजायमा रोक लगाइ आजीवन काराबासको सजायमा परिणत गरिएको थियो । त्यसयता सामुहिक मृत्युदण्ड सुनाइएको यो पहिलो केस भएको बताइएको छ ।