वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ ? सिधैं ११४१ मा कल गर्नुहोस्
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ

काठमाडौं, १६ माघ । अब वैदेशिक रोजगार सम्बन्धी समस्या भए सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्पर्क गर्न सकिने भएको छ ।
मन्त्रालयले आइतबारदेखि पैसा नलाग्ने वा लाग्ने फोन नम्बर सञ्चालनमा ल्याइएको छ । मन्त्रालयले त्यसलाई कल सेन्टर नाम दिएको छ ।

उक्त कलसेन्टरको आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उदघाटन गरेका छन् । कल सेन्टरमा २४सै घण्टा फोन सम्पर्क गरेर आफ्ना समस्या वा गुनासा सुनाउन सकिनेछ ।
त्यसका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधैँ सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सक्ने व्यवस्था गरेको छ ।

गुनासो आउने वित्तिकै मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव सङ्कलन गरी प्राथमिकताका साथ समाधान गरिनेछ ।

श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । उनले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको उनले बताए ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एशियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका देशमा गैरकानुनी रुपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।

प्रतिक्रिया