काठमाडौं, १६ माघ । ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी मन्दिरबाट गत आइतबार मूर्ति चोरी भएको थियो ।
एक हप्ता बितिसक्दा पनि मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले बताए ।
‘शुक्रबार हाम्रो गुठीको बैठक बसेको थियो। कसैले सहयोग ग¥यो वा सुराकी दियो भने प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ सम्म गुठीले दिने निर्णय भएको हो,’ गुठीका सदस्यसमेत रहेका वडाध्यक्ष महर्जनले भने, ‘प्रहरीले अनुसन्धान पनि गरिरहेको छ। अब ठ्याक्कै पत्ता लगाउन सकिसकेको छैन । हामी प्रहरीसँग लागिरहेका छौं ।’
गुठीले जारी गरेको विज्ञप्तिमा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ । यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ ।