बेलायती टेनिस खेलाडी एम्माको पिछा गरेको र बुबाको जुत्ता चोरेको अरोपमा एक नेपाली दोषी ठहर
अखबार टुडे
प्रकाशित:
२०७८, १६ माघ

काठमाडौं, १६ माघ । बेलायती टेनिस खेलाडी एम्मा ¥याडुकानुको घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई त्यहाँको एक अदालतले शुक्रबार दोषी ठहर गरेको डेलीमेलले जनाएको छ ।

लन्डनस्थित एजवेयर बस्दै आएका मगरले साउथ इष्ट लन्डनमा घर भएका गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि समेत जितेकी १९ वर्षीय एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा ब्रोम्ली मेजिस्ट्रेट कोर्टले दोषी ठहर गरेको हो ।

डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका थिए । विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर यु डिजर्भ लभ ( तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए । त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए ।

दोस्रोपटक एम्माको घरमा पुगेका मगरले क्रिसमस डेकोरेशनसहितको एक नक्सा कोरेर उनलाई भेट्न २३माइल लामो यात्रा गरेर आएको बताएका थिए । अदालतसँगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् ।

सोही कारण आफ्नो घरबाट बाहिर निस्किँदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महसुस हुने गरेको उनको बयान थियो । यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् ।

प्रतिक्रिया