काठमाडौं, १६ माघ । संयुक्त राज्य अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भारी हिमपातपछि पाँच राज्यमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्क, न्यूजर्सी, मेरील्याण्ड, रोड आइल्याण्ड र भर्जिनियाका सरकारले आपतकाल घोषणा गरेका हुन् ।
अत्यधिक हिमपातका कारण सडक, विद्युत र हवाई उडानहरु अवरुद्ध भएका छन् । शुक्रबारदेखि आइतबारसम्मको अवधिमा करिब ६ हजार उडानहरु रद्ध भएको बताइएको छ ।
नोइस्टर भनेर चिनिने हिमआँधीका कारण केही स्थानमा शनिबार साँझदेखि नै दुई फिटसम्म हिउँ जमेको थियो । साथै, म्यासाचुसेट्सका झण्डै एक लाख घरहरुमा विद्युत आपूर्ति बन्द भएको थियो । म्यासाचुसेट्सको सबैभन्दा नराम्रोसँग केप कोड प्रभावित भएको छ ।
विज्ञहरुले केही स्थानमा ऐतिहासिक हिमपात हुने र तटीय क्षेत्रमा बाढी आउने चेतावनी दिएका छन् । साथै अधिकांश स्थानमा अत्यधिक चिसो बढ्ने छ । बोस्टनको राष्ट्रिय मौसम सेवाले अत्यावश्यक काम भएमा मात्रै घरबाट बाहिर निस्किन सूचित गरेको छ ।
सन् २०१६ मा अमेरिकाको पूर्वी क्षेत्रमा यस्तै आँधी आउँदा कम्तिमा १७ जनाको मृत्यु भएको थियो भने ११ राज्यमा आपतकाल घोषणा गरिएको थियो । साढे आठ करोड मानिस प्रभावित भएका थिए । अमेरिकाको एक सय वर्षको इतिहासकै शक्तिशाली भनिएको उक्त आँधीलाई ‘स्नोजिला’ नाम दिइएको थियो । (एजेन्सीको सहयोगमा)