
लाहोर, १५ माघ (एजेन्सी) । पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ ।
पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ ।
प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ । हालै भएको उक्त घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्तालाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले भनेको छ, ‘अली जेनले २०२२ जनवरी १९ गते आफ्नी आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छननविनले देखाएको छ ।’
पबजी खेलमा बारम्बार पराजित हुँदा तनाव बढेपछि उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बयानमा उनले बताएका छन् । प्रवक्ता अधिकारीले घटनाका सबै पक्षको छानबिन भइरहेको र कानुनी र तथा न्यायिक प्रक्रिया पूरा भएपछि अभियुक्तलाई कडा सजाय हुने बताए ।
