काठमाडौं, १४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार विश्वकप टी–२० ग्लोबल छनोटको खेल तालिका सार्वजिनक गरेको छ ।
तालिकाअनुसार विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ ।
समूह ‘ए’ मा परेको नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यी आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह एकमा नेपाल, ओमन, क्यानडा, र फिलिपिन्स छन् भने समूह दुईमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
ओमनमा नै आयोजना हुने उद्घाटन खेल आगामी फागुन ६ गते हुनेछ । यस समूहमा फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी२० विश्वकपमा स्थान बनाउने छन् । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग फागुन ७ मा खेल्नेछ भने तेस्रो खेल क्यानडासँग फागुन ९ गते खेल्नेछ ।
नेपालले विश्वकप छनोट खेल्नुअघि चार देशसम्मिलित टी–२० सिरिज खेल्नेछ । ओमानमा हुने उक्त सिरिजमा नेपालसहित युएई, आयरल्यान्ड र घरेलु टोली ओमनबीच प्रतिस्पर्धा हुनेछ । उक्त सिरिज माघ २८ देखि फागुुन २ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल माघ २८ गते ओमानसँग खेल्नेछ भने दोस्रो खेल माघ २९ गते युएईसँग खेल्नेछ । त्यस्तै नेपालले तेस्रो खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।
क्यानद्वारा सन् २०२२ को केन्द्रीय सम्झौता सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२२ को केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । सम्झौताअनुसार कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीस, सोमपाल कामी र करण केसीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा ग्रेड ‘ए’ मा अनुबन्ध गरेको छ ।
त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् ।
त्यसैगरी ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
क्यानले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्ध नरहेका खेलाडी विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
महिलातर्फ ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी, ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्। त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।
महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने र क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै क्यानले आउँदो फागुन १३ र १४ मा धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।