बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया निकुञ्जलाई महत्त्वपूर्ण टीएक्स-२ अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७८, १४ माघ

काठमाडौं, १४ माघ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम टाइगर रिजर्भले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेको छ ।

सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्स–२ अवार्ड पुरस्कार पाउने भएको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धताअनुसार उपलब्धि हासिल गरेकाले टीएक्स–२ अवार्ड दिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा योबीचमा बाघको संख्या करिब चार गुणाले बढेको छ । सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० को हाराहारीमा पुगेको छ । यस्तै, भारतको दक्षिण भारतीय राज्य तमिलनाडुमा अवस्थित सत्यमंगलम टाइगर रिर्जभले पनि उक्त अवधिमा बाघको संख्या २५ बाट बढाएर ८० पु¥याएको छ ।

बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ ।

टाइगर्स अलाइभ इनिसिएटिभका प्रमख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयवासीले देखाएको संरक्षण निकै तारिफयोग्य र असाधारण रहेको बताएका छन् । यस्तै एकीकृत आवास कार्यक्रम आईयूसीएनका संयोजक सुगोतो रोयले बाघको वासस्थानको सुधार, सिकारीको कडा अनुगमन र स्थानीयवासीको इमाादारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया