काठमाडौं, १४ माघ (एजेन्सी) । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ ।
यदि त्यसो भयो भने यी प्रतिबन्धहरूले रुसी ऊर्जा क्षेत्रमा लगानी गर्ने बीपी, टोटल र शेल जस्ता युरोपेली दिग्गजहरूलाई असर गर्नेछ ।
पछिल्ला केही महिनाहरूमा पश्चिम र युक्रेनले रुसमाथि आक्रमणको कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना केन्द्रित गरेको आरोप लगाएका छन् ।
यता रुसले भने बारम्बार युक्रेनमा आक्रमण गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ भने उसलाई आफ्नै क्षेत्रमा सेना सार्ने अधिकार छ भन्ने कुरामा जोड दिँदै आएको छ ।
अमेरिकाले युक्रेनविरूद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न मस्कोमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ । विदेश मन्त्रालयकी एक जना अधिकारी भिक्टोरिया नुलन्डले युक्रेनमा द्वन्द्व भए त्यो चीनका लागि पनि नराम्रो हुने बताइन् ।
परियोजना कुन अवस्थामा छ ?
उक्त १२ सय २५ किलोमिटर पाइपलाइन निर्माण गर्न पाँच वर्ष लागेको थियो । त्यसलाई बनाउन ११ अर्ब डलर भन्दा बढी लागेको थियो । उक्त इन्धन परियोजना बालटिक समुद्र मुन्तिरबाट अघि बढ्छ र त्यसले जर्मनीमा हुने रुसी ग्यासको आपूर्ति दोब्बर बनाउने लक्ष्य राखेको छ ।
गएको नोभेम्बरमा नियामक निकायले उक्त परियोजना जर्मनीको नियम अनुसार नरहेको भन्दै त्यसको अनुमतिलाई स्थगन गरिदिएपछि हालसम्म उक्त परियोजना सञ्चालनमा आइसेको छैन । नोर्ड स्ट्रिम टुमा प्रमुख युरोपेली व्यापारिक समुदायले ठूलो लगानी गरेका छन्।
वातावरणविद्हरूले रुसबाट उत्पादित ऊर्जामा युरोपको निर्भरता बढाउने उक्त परियोजना कसरी उत्सर्जन कटौती गर्ने र मानव सृजित जलवायु परिवर्तनका असर कम गर्ने रुसी प्रयाससँग मिल्न गयो भनेर प्रश्न गरेका छन् । विगतमा युक्रेनका राष्ट्रपति भोल्दीमिर जेलेनस्कीले उक्त पाइपलाइनलाई ’खतरनाक भूराजनीतिक अस्त्र’ भनेका थिए ।