जनकपुरधाम, १२ माघ । जनकपुरधाममा बाँसका भाटासहित प्रदर्शनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
उनीहरूले गाडी रोकेर तोडफोड गरेको र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको बताइएको छ । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । प्रसाईंसँगै उपमेर रेणुका पौडेललगायत पनि सवार थिए ।
जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा लठ्ठीसहित प्रदर्शन गर्दै आएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।