काठमाडौं, १२ माघ । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि रुसले आफ्नो दक्षिण–पश्चिमी छिमेकी राष्ट्रमाथि आक्रामक कदम चालेमा त्यसले विश्वका लागि असाधारण परिणाम निम्त्याउनसक्ने बताएका छन् ।
बाइडेनले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने अमेरिकी चेतावनी दएिका छन् ।
पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको रुसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिँदै आएका बेला अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको बीबीसीले जनाएको हो ।
संवाददाताहरूले यदि युक्रेनमाथि आक्रमण भए तपाईँ रुसी राष्ट्रपतिमाथि व्यक्तिगत रूपमै प्रतिबन्ध लगाउनु हुन्छ? भनेर सोधेको प्रश्नको जवाफमा बाइडनले ‘हो’ भनेका थिए । उनले युक्रेनको सिमाना पार गर्ने आक्रामक कदमले विश्वव्यापी रूपमा असाधारण परिणाम निम्त्याउने र यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो आक्रमण हुनसक्ने बताए ।
बाइडनले पूर्वी युरोपमा नेटोको उपस्थितिलाई बलियो बनाउन आफू बाध्य भएको महसुस गराउनसक्ने पनि बताए । उनले भने, ‘हामीले के स्पष्ट गर्नुपर्छ भने नेटोका कुनै पनि सदस्यले चिन्ता लिनुपर्ने कुनै कारण छैन, नेटो उनीहरूको रक्षामा आउँछ ।’ तर बाइडनले युक्रेनमा नै अमेरिकी सेना पठाउने कुनै योजना नभएको दोहो¥याए ।
रुसले भने युक्रेन मामिलामा तनाव बढाउन अमेरिका र अन्य शक्तिहरूले भूमिका खेलेको आरोप लगाएको छ । रुसले युक्रेनमाथि आफूले हमला गर्ने कुनै मनसाय नरहेको दोहो¥याउँदै आएको छ । यद्यपि मस्कोले युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा हातहतियार सहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ । त्यस क्षेत्रमा उसका करिब एक लाख सैनिकहरू तैनाथ छन् ।
युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुने तयारीपछि विवाद बढेको छ । युक्रेन नाटोको सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने रुसको बुझाइ छ । अमेरिका, बेलायतलगायत नाटोका सदस्य देशले युक्रेनलाई हतियार उपलब्ध गराएका छन् ।
त्यस्तै, प्रतिरक्षाका लागि सैन्य बल पठाउने बेलायतीले जनाएको छ । अमेरिका, बेलायत र युरोपेली संघले सन् २०१४ देखि नै रुसमाथि ऊर्जा तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाउँदै आएका छन् ।