नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा
अखबार टुडे
प्रकाशित:
२०७८, १२ माघ

काठमाडौं, १२ माघ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज .(बुधबार) सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पुगेको छ ।

नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएको पाइएको छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १६९ छ । प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसमा पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो । यस्तै १० वर्षअघिको जनगणनाअनुसार घरपरिवारको संख्या ५४ लाख २३ हजार २ सय ९७ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो ।

जनगणनाबाट सबैभन्दा बढी परिवार मधेश प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा छन् । यस्तै, यो १० वर्षमा प्रतिपरिवार जनसंख्यामा पनि गिरावट आएको छ । २०६८ सालमा नेपालमा एउटा परिवारमा ५ जना बस्थे । अहिले प्रतिपरिवार ४.३२ जना बस्न थालेका छन् ।

नेपालको कुल जनसंख्याको २१ प्रतिशत जनसंख्या मधेश प्रदेशमा बसोबास गर्ने गरेका छन् । यसपछि बागमती प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको यो वर्षको जनगणनाले देखाएको छ । मधेश प्रदेशमा ६१ लाखभन्दा बढी, बागमतीमा ६० लाख जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया