रुस-युक्रेन तनावः साढे आठ हजार अमेरिकी सेना उच्च सतर्क अवस्थामा
अखबार टुडे
प्रकाशित:
२०७८, ११ माघ

काठमाडौं, ११ माघ । युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्ताका बीच करिब साढे आठ हजार अमेरिकी सेनाहरू उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले बताएको छ ।

रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छोटो सूचनामै जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले सोमवार आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी गरेका छन् । उनीहरूले रुसविरुद्ध सामूहिक रणनीति अपनाउनेबारे छलफल गरेको बताइएको छ ।

पेन्टागनले सैनिकहरू तयारी अवस्थामा रहेका भएपनि उनीहरूको तैनाथीबारे हालसम्म निर्णय भइनसकेको जनाएको छ । पेन्टानगनका प्रवक्ता जोन कर्बीले यदि नेटोले ‘¥यापिड एक्सन फोर्स’लाई परिचालन गर्ने वा रुसी सैनिकहरूको उपस्थिति रहेको क्षेत्रमा कुनै नयाँ अवस्था उत्पन्न भएमा मात्र तयारी अवस्थामा रहेका सैनिकहरू त्यस क्षेत्रमा पठाइने जानकारी दिएका छन् ।

उनले युक्रेनमै अमेरिकी सैनिकहरू तैथान गर्ने कुनै योजना नभएको बताए । नेटोका केही सदस्य राष्ट्रहरू डेनमार्क, स्पेन, फ्रान्स र द नेदरल्यान्डस्ले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन् ।

नेटोका महासचिव जेनेरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरिए रुसले त्यसको महँगो मूल्य चुकाउनुपर्ने बताएका छन् । रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया