काठमाडौं, ११ माघ । नेपाल भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ ।
‘विगत १ वर्ष (सन् २०२०/२१) मा विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ । गतवर्ष पनि यस सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै रहेको थियो ।
अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा भ्रष्टाचारको अवस्था सुधार नहुनुमो सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी हुनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता जस्ता कारण पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक पदाधिकारीमाथि प्रश्न, अन्तरदेशिय भ्रष्टाचार नियन्त्रण, शक्ति नियन्त्रण र सरकारी खर्चको पारदर्शिता बढाउन सुझाव समेत रिपोर्टमार्फत दिएको छ ।
रिपोर्टअनुसार डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । सीपीआई २०२१ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान सबैभन्दा कम भ्रष्टाचार गर्ने राष्ट्र बनेको छ । भुटानले ६८ अङ्क प्राप्त गरी २५ औं स्थान रहन सफल भएको छ ।
५० भन्दा कम अंक ल्याउने मुलुक भ्रष्टाचारले आक्रान्त भनी चित्रण गरिन्छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।