आफ्ना कर्मचारीलाई युक्रेन छोड्न अमेरिकाको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, १० माघ

वासिङटन, १० माघ (एजेन्सी) । पछिल्ला केही हप्ताहरुमा रुस र युक्रेनबीच तनाव बढिरहेका बेला अमेरिका सरकारले युक्रेनको दूताबासमा रहेका आफ्ना कर्मचारीलाई युक्रेन छोड्न आदेश दिएको छ ।

आइतबार अमेरिकाको विदेश मन्त्रालयले किभको दूतावासमा कार्यरत कर्मचारी, तिनका परिवारका सदस्य र अत्यावश्यक काम नभएका अन्य कर्मचारीहरुलाई पनि युक्रेन छोडी स्वदेश फर्किन सो आदेश दिएको हो ।

दूताबासमा रहेका मात्र नभएर युक्रेनमा रहेका आफ्ना सबै नागरिकहरुलाई पनि सम्भव भएसम्म युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले अनुरोध गरेको छ ।

अमेरिकी गुप्तचर रिपोर्टमा रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको पाइएको बताइएको छ । त्यसैले पनि अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बताइएको छ । उता रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको बताएको छ ।

रुसले पछिल्ला समयमा अमेरिकाले लगाउँदै आएको सो आरोपको खण्डन पनि गर्दै आएको छ । तर पनि अघिल्लो महिना देखि नै रुसले भने युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यो कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रिया