काठमाडौं, ९ माघ (एजेन्सी) । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी छन् ।
उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम हाललाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् । ‘मेरो विवाहको कार्यक्रम अघि बढ्ने छैन,’ उनले पत्रकारसँग भनिन्, ‘मजस्तै परिस्थितिमा भएकाहरुका लागि म माफी माग्न चाहन्छु ।’
लामो समयदेखि सम्बन्धमा रहेका आफ्ना प्रेमीसँगको विवाहको कार्यक्रम बारम्बार रद्द हुँदा कस्तो लागिरहेको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म न्युजिल्याण्डका हज्जारौँ जनताभन्दा फरक छैन । न्युजिल्याण्डका जनताले महामारीमा थप विनासकारी प्रभाव महसुस गरेका छन् । गम्भीर रुपमा विरामी हुँदा पनि आफ्नो प्रियजनलाई भेट्न असमर्थ भएका छन् । यो मैले गरेको कुनै पनि दुःखको अनुभवभन्दा निकै टाढा छ ।’
उनले बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भीड हुने गर्छ हाललाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझाव समेत दिएकी छन् । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेकी छन् ।