कन्चनपुर, ९ माघ । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।
नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुईवटा बाछी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताउनुभएको छ । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।
उनले भने, ‘धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन् । साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् । वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।’
यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो । ‘केही महिना आतंक मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो’, तुलाराम चौधरीले भने, ‘ ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।’