काठमाडौं, ८ माघ । सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारे संविधानविद् र कानूनविद्सँग छलफल गर्ने भएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था बाझिएकाले संविधानविद् र कानूनविदसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।
उनले एक/दुई दिनभित्र संविधानविद् र कानुनविद्सँगको परामर्शमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा बाझिएको व्यवस्थालाई समाधान गर्ने बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतको सहभागिता थियो ।