
काठमाडौं, ७ माघ । काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति जारी गरी थप स्पष्ट पारिएकोे हो ।
प्राप्त सूचनाअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा पनि जोरबिजोर प्रणाली लागूहुने छैन । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधान पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ ।
यसैगरी निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।
सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।
यसका अलावा जोर दिनमा जोर नम्बर प्लेट भएका र बिजोर दिनमा बिजोर नम्बर प्लेट भएका सार्वजनिक तथा निजी सवारी सवारी साधान सञ्चालन गर्न पाइने जनाइएको छ । उक्त आदेश आज राति १२ बजेदेखि लागू हुँदैछ ।
जोरबिजोर प्रणाली लागू नगर्न यातायात व्यवसायीको माग
यसैबीच, यातायात व्यवसायीहरूले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरूसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।
छलफलका क्रममा यातायात व्यवसायीहरूले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड हुने भन्दै व्यवसायी जोरबिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।
यद्यपी सरकारले गरेको निर्णय आफूहरूले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली लागू नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको सट्टा निजी सवारी साधनलाई रोक्नुपर्ने उनले उल्लेख गरे ।
जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए । उनले यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उल्लेख गरे । त्यसैगरी व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोरबिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।
