व्यक्ति हत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गर्न नागरिक अगुवाको माग
अखबार टुडे
प्रकाशित:
२०७८, ७ माघ

काठमाडौं, ७ माघ । नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गरी कानुनी कारबाहीको दायरामा सरकारसँग माग गरेका छन् ।

शुक्रबार डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले संयुक्त रुपमा अपिल जारी गर्दै मन्त्री यादवलाई पदमुक्त गरी कानुनी कारवाहीको दायरमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।

अपिलमा बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतको हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु देशमा देखिएको दण्डहीनताको प्रतिफल भएको उल्लेख छ ।

वि.स. २०६३ साल चैत ३ गते भएको गौर हत्या काण्डमा २८ जना माओवादी समर्थकको ज्यान गएको थियो । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर गौर हत्याकाण्ड जसरी नै घेरा हाली डाक्टर राउतको ज्यान लिने धम्की दिएको सार्वजनिक भएको र यस्तो धम्की दिने व्यक्ति पदमा रहन अयोग्य रहेको नागरिक अगुवाको भनाइ छ ।

केही दिनअघि बलिदानी दिवस मनाउन गौर पुगेकी जसपा नेता समेत रहेका मन्त्री यादवले सम्बोधनका क्रममा भनेकी थिइन्, ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर । लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

साथै, उनले ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस’ भनेकी थिइन । मन्त्री यादवको उक्त अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया