काबुल, ७ माघ (एजेन्सी) । संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ ।
सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । अफगानिस्तानको केन्द्रीय बैंक–दा अफगानिस्तान बैंकले राष्ट्रसंघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ ।
सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा हो । तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि देश आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा गहिरिँदै गएको छ ।
विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तरराष्ट्रिय प्रतिबन्धको संयोजनले पहिले नै उच्च गरिबीको स्तरबाट पीडित देशलाई हाल झन् गहिरो आर्थिक सङ्कटमा डुबाएको छ ।