बाइडेनको चेतावनी ‘युक्रेनमाथि आक्रमण गरे रुसको लागि विनाशकारी हुनेछ’
अखबार टुडे
प्रकाशित:
२०७८, ६ माघ

वासिङ्टन, ६ माघ (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।

बुधबार राष्ट्रपति बाइडेनले भने, ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो् भने यो रुसको लागि विनाशकारी हुनेछ’ ।
उनले साझेदार र सहयोगीहरू रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पु–याउन तयार रहेको बताए ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । रुसले युक्रेनमा थप गतिविधि गरेमा मैले वाचा गरेको कडा प्रतिबन्ध लगाइने जुन कसैले कहिल्यै देखेको छैन, बाइडेनको थप चेतावनी छ । तर त्यो रुसको गतिविधि र युक्रेनमा गर्ने आक्रमणको स्तरमा भर पर्ने पनि बताए ।

‘मैले पहिले नै युक्रेनीहरूलाई अमेरिकी डलर ६०० मिलियन भन्दा बढी मूल्यको परिष्कृत रक्षा उपकरणहरू पठाइसकेको छु । रूसीहरूका लागि यो महङ्गो पर्नेछ’ उनले भने । युक्रेनको सीमामा पुटिनले आफ्ना एक लाख सेनालाई जम्मा गरिसकेको अमेरिकाको बुझाइ छ ।

‘उनी के गर्न गइरहेका छन् भन्ने कुरामा म यत्ति निश्चित छैन । मेरो अनुमान छ कि उनी भित्र जान्छन् । उनले केही गर्नुपर्छ’, बाइडेनले सोभियत पछिको संसारमा सान्दर्भिकता खोज्ने नेताको वर्णन गर्दै भने, ‘उनी चीन र पश्चिम बीचको संसारमा आफ्नो स्थान खोज्ने प्रयास गर्दैछन् ।’
राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको पहिलो वर्षको अवसरमा औपचारिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेकाह् हुन् ।

प्रतिक्रिया