यस्तो छ आयोगले राष्ट्रियसभा निर्वाचनका लागि जारी स्वास्थ्य मापदण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ६ माघ

काठमाडौं, ६ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले अनिवार्य स्वास्थ्य मापदण्ड लागू गरेको हो । यही माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

बिहीबार आयोगले गरेको विज्ञप्तिअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतस सबैले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।

मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ ।

मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको छ ।

साथै, अनावश्यक भिडभाड हुन नदिन, मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्सको व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएको छ ।

प्रतिक्रिया