विश्व कप छनोटका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा, विनोद र सोमपाल टिममा परेनन्
अखबार टुडे
प्रकाशित:
२०७८, ६ माघ

काठमाडौं, ६ माघ । आईसीसी टी–२० विश्व कपको ग्लोबल छनोटका लागि (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरेको छ ।

टिममा तीव्र गतिका बलर सोमपाल कामी समावेस छैनन् । यस्तै टिममा विकेटकिपर विनोद भण्डारी पनि परेका छैनन् । युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

नेपाली टिम
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ।

विश्व कप छनोटको समूह ’ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ । छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अस्ट्रेलियामा हुने विश्व कपका लागि छनोट हुनेछन् ।

१६ टिमबीच प्रतिस्पर्धा हुने टी–२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन् । सन् २०२१ को टी–२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी–२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए। अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो ।

किन टोलीमा परेनन् सोमपाल ?
घुँडामा देखिएको चोटका कारण सोमपाल कामीले टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीमा स्थान बनाउन नसकेको पाइएको छ ।
प्रधानमन्त्री कप क्रिकेट दौरान घाइते भएका सोमपालको एमआरआई रिपोर्टका आधारमा चिकित्सकले कम्तीमा एक साता आराम गर्न सल्लाह दिएका छन् ।
स्रोतका अनुसार ‘चिकित्सकले एन्टी इन्फ्लामेटरी दिनुभएको छ। एक सातापछि पनि दुखाइ कम भएन भने थप उपचार गर्नुपर्ने हुन्छ । नत्र विस्तारै रिह्याब गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो ।

सन् २०१४ मा भएको टी–२० क्रिकेटमा सोमपालले बेजोड बलिङ प्रदर्शन गरेका थिए । त्यसयता उनी नेपाली टोलीमा नियमित रहँदै आएका थिए ।

प्रतिक्रिया