९९ श्रमिक इजरायल प्रस्थान, अनुशासित भएर काम गर्न आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ६ माघ

काठमाडौं, ६ माघ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् ।
बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् ।

इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो ।

नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ ।

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरेका थिए ।
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया