भोजपुरी कलाकार खेसारीलालले भने, ‘मलाई क्षतिपूर्ति चाहियो’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

विराटनगर, ५ माघ । भारतका भोजपुरी कलाकार खेसारीलाल यादवले आफूलाई आयोजकले धोका दिएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् । मंगलबार सुनसरीको बर्जु महोत्सवको अन्तिम दिनका लागि खेसारीलाललाई नेपाल बोलाइएको थियो ।

तर, उनलाई कार्यक्रममा सहभागी हुन स्थानीय प्रशासनले रोक लगाएपछि दर्शकको भीडले महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका थिए । जब महोत्सवमा जानका लागि प्रशासनले खेसारीलाललाई रोके, त्यसपछि मात्र कोरोनाका कारण कार्यक्रम स्थगित गरिएको आफूलाई जानकारी भएको उनले बताए ।

खेसारीलालले बुधबार पत्रकारहरुसँग भने, ‘म पटनाबाट नेपालको विराटनगरसम्म आउँदासम्म कोरोनाका कारण यहाँका प्रशासनले कार्यक्रम स्थगित गराएको आयोजकले मलाई कुनै जानकारी दिएन ।’

तर, यता खेसारीलालको नाममा आयोजकले टिकटसमेत बिक्री गरिसकेका थिए । खेसारीलाल कार्यक्रममा उपस्थित नभएपछि टिकट काटेकाहरूले हुलदंगा मच्चाउँदै महोत्सवको स्टेज भत्काउनका साथै चारवटा गाडी जलाइ दिएका थिए ।

कलाकार खेसारीलालले भने, ‘यो घटनामा मेरो डेढ करोडको घाटा भएको छ । म जनतालाई मनोरञ्जन दिनका लागि नेपाल आएको थिएँ, तर यहाँका प्रशासनले कार्यक्रममा रोक लगाएको छ भने कुरा मलाई जानकारीमा थिएन । म होटलबाट निस्केर कार्यक्रममा जान लाग्दा प्रहरी प्रशासनले मलाई रोक्यो । यसमा न प्रशासनको गल्ती छ, न त मेरो । पुरै गल्ती आयोजकको छ ।’

पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएसँगै संक्रमणसमेत बढ्दै गएकाले जिल्ला प्रशासन सुनसरीले दुई दिनअगाडि नै पत्र काटेर कार्यक्रम रोक्न अनुरोध गरेको थियो ।

माघ २ गते जिल्ला प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘हाल बढ्ने क्रममा रहेको कोभिड–१९ संक्रमण सम्बन्धी २०७८/९/२७ मा बसेको डिसिएमसी बैठकको निर्णय र यस कार्यालयबाट मिति २०७८/९/२७ मा जारी भएको आदेश कार्यान्वयनमा रहेकाले उक्त अनुमति आजैदेखि खारेज भएको व्यहोरा निर्णय अनुसार अनुरोध छ ।’

प्रतिक्रिया