काठमाडौं, ५ माघ । नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।
पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ ।
विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो ।
गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।