काठमाडौं उपत्यकामा आजदेखि थप कडाइ, यस्तो छ नयाँ नियम
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

काठमाडौं, ५ माघ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण नेपालमा बढ्दै गएपछि नियन्त्रण गर्न मन्त्रिपरिषद्ले पुस ३० मा निर्णय गरेको थियो ।

सोही निर्णयलाई उपत्यकाका तिनै वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातदेखि लागू हुनेगरी माघ मसान्तसम्मलाई कार्यान्वयनमा ल्याएको छ । आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ ।

माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनैपर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ । डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।

आदेशअनुसार मठ–मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ । सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।

सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ । लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ । सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ ।

प्रतिक्रिया