विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने राष्ट्रपति सीको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

काठमाडौं, ४ माघ (एजेन्सी) । चीनका राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन् ।

सोमबार डाभोस विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले द्वन्द्वले समस्या समाधान नहुने कुरा इतिहास साक्षी रहेको बताए ।

उनले चीन विश्वको एक यस्तो अर्थतन्त्र हो, जसले बलियो नतिजा दिइरहेको बताउँदै विश्वका ठूला शक्तिहरुबीचको सम्बन्धमा कमजोरी रहेको औंल्याए ।

साथै सीले सबैलाई साथमा लैजाने नीतिमा चीनले विश्वास राखेको बताए । विकासोन्मुख देशहरूले आफ्ना गतिविधिबाट पीडित देशहरू पीडित हुन नपरोस् भन्नका लागि देशहरूबीच ठोस समन्वयको आवश्यकता रहेको र समृद्ध मुलुकहरूले जिम्मेवार आर्थिक नीतिहरू अवलम्बन गर्नुपर्ने उनले बताए ।

विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै सीले शताब्दीमा एक पटक आउने महामारीसँग विश्वले निकै कठिन लडाइँ लडेको बताए । तर यो महामारी लामो समयसम्म रहने उनले बताए ।

भाइरसका नयाँ संस्करणहरू पहिलेको तुलनामा द्रुत रूपमा फैलिरहेका छन् र यसले विश्वव्यापी अर्थतन्त्रको सामना गर्ने चुनौतीलाई गहिरो बनाएको उनको भनाइ छ ।

चीन र अमेरिकाबीच चलिरहेको राजनीतिक र व्यापारिक तनावको बीचमा राष्ट्रपति सीको यस्तो भनाइ आएको हो । उनले विश्व अर्थतन्त्रलाई थप खस्किन नदिन आर्थिक नीतिको राम्रो समन्वय गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया