तेस्रोलिंगीको गुनासो- ‘हिँजडा र छक्काजस्ता अपमानित शब्द प्रयोगले भावनामा चोट पुर्याएको छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

झापा, ४ माघ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (तेस्रोलिंगी)का अगुवा अधिकारकर्मीले आफ्नो समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनकरूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बिर्तामोडमा संवाद समूहले संयोजन गरेको छलफलमा सहभागी उनीहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका समस्या सम्बोधनमा तीनै तहका सरकार र राजनीतिक दल उदासिन देखिएको गुनासो गर्दै यस्तो माग गरेका हुन् ।

अधिकारकर्मी नुमा लिम्बू ‘चञ्चला’ले आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको बताइन् । महिला, पुरुषसरह तेस्रोलिंगीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै उनले हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले आफूहरूले हरेक क्षेत्रमा अपमान र विभेद झेल्नुपरेको पीडा सुनाउँदै भन्,ि ‘समाजमा अरुले जस्तै सम्मानजनकरूपमा बाँच्न पाउनुपर्छ ।’

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारका सवालमा काम गर्दै आएको संस्था लिड नेपाल दमकका अध्यक्ष सुशील पौडेलले घरपरिवार, विद्यालय, सार्वजनिक ठाउँलगायत सबै क्षेत्रमा अपमानित र विभेदको शिकार हुनुपरेको बताए ।

तेस्रोलिंगीलाई ‘हिँजडा, छक्का’जस्ता अपमानित शब्द प्रयोग गरेर भावनामा चोट पु¥याउँने गरेको र विभेद गर्ने गरिएको उनीहरुको गुनासो छ । विसंं २०६४ पुस ६ गते सर्वोच्च अदालतले पहिचानका आधारमा तेस्रोलिंगीलाई नागरिकता दिनू भनी आदेश गरे पनि त्यो सहज नभएको उनले बताए ।

नागरिकता लिन जाँदा ‘मेडिकल जाँच गरेर पहिचानसहितको रिेर्पोट लिएर आउनू’ भनेर फर्काइने गरेको, अनावश्यक प्रश्नहरूको सामना गर्नुपरेको उनीहरूको गुनासो छ ।

विभेदकै कारण घरपरिवार छाडेर बस्नुपर्ने, तेस्रोलिङ्गी भनेर थाहा पाएपछि डेरा नपाइने, पाएकालाई पनि निकालिने, बढी भाडा लिनेजस्ता समस्या रहेको उनले सुनाइन् ।

छलफलमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुस्कान राई, बृयाना राई, रुबिना नेपाल, सुशान्त लिम्बू, हस्त मगरलगायतले समेत आफ्ना विभिन्न समस्या राखेका थिए ।

फाइल फोटो
प्रतिक्रिया