आयल निगमले भन्यो, ‘तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आयो’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

काठमाडौं, ४ माघ । नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै निगमले आफ्नो सञ्चित मुनाफा रित्तिएको र अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने जनाएको छ ।

‘सञ्चित मुनाफा शून्यमा पुगेकाका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने २ अर्ब रकम समेत अपुग भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आईओसीको २ अर्ब तिर्न ऋण लिनु पर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।’

पुस मसान्तम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको र माघ एक (जनावरी १६ तारिख)मा निगमलाई भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्मको तेल खरिदको भूक्तानीका लागि निगमले सञ्चित मुनाफा, मूल्य स्थीकरण कोषमा पठाईने रकम र कर्मचारी बोनस तथा सुविधाबाट आईओसीलाई तिरिएको सहप्रवक्ता पुस्कार कार्कीले बताए ।

अब मूल्य समायोजन गर्दै जाँदा समेत मासिक ४ अर्ब नोक्सानीमा निगम पुग्ने देखिएको र देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न करिब १२ अर्ब रुपैयाँ थप आवश्यक पर्ने निगमले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा भारतीय आयल निगमबाट १२ पटक नयाँ मूल्य प्राप्त भएकोमा हरेक पटक बढेर मूल्य आएको तर निगमले जम्मा तीन पटक मूल्य समायोजन गरेको जनाएको छ ।

प्रतिक्रिया