वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सहमत, बिहीबार मिति तोक्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

काठमाडौं, ४ माघ । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

आज(मंगलबार) बिहान भएको छलफलमा सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य बिहीबार अर्को बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिस अनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन । दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ ।

प्रतिक्रिया