काठमाडौं, ३ माघ । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिश गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलको निर्देशनमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिश गरेको छ ।
मन्त्री आलेको निर्देशनमा गत पुस २३ गते छानविन समिति गठन गरिएको थियो । मन्त्री आलेलाई कोभिड संक्रमण भएका कारण छानविन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाइएको छ ।
छानबीन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका हन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुवेदीले विभिन्न कारण देखाएर सम्झौता खारेज गर्न समितिले सिफारिश गरेको जानकारी दिए ।
छानबिन प्रतिवेदनले अधिकार प्राप्त निकायको स्वीकृति विना सम्झौता गरेको, बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का गरेकाले मिलेमतो भएको हुनसक्ने देखिएको, सम्झौताविपरीत बेड संख्या, दररेट राखेर धर्मशाला सञ्चालन गरिएको, स्वीकृति विना संरचनाहरू थप गरिएको, धर्मशालाभित्र विभिन्न कार्यालयहरू राखेको, समयमै भाडा नबुझाएको लगायत कारण देखाएर सम्झौता रद्द गर्न सिफासिर गरेको हो ।