सहरी विकास मन्त्री झाँक्रीले १०० दिनमा के के गरिन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, ३ माघ

काठमाडौं, ३ माघ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले गरेका उपलब्धीको फेहरिस्ती लगाएकी छन् ।

सोमबार पत्रकार सम्मेलन गरी आफूले सहरी विकास मन्त्रालयको सम्हालेको १००औँ दिन पुगेको अवसरमा मन्त्री झाँक्रीले आफ्ना उपलब्धी सुनाएकी हुन् । सोक्रममा सहरी तथा पूर्वाधारसम्बन्धी कानुन निर्माण र नीति सुधारमा १०० दिनमा उल्लेखनीय काम भएको बताइन् ।

मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिनमा सहरी नीति संशोधन अन्तिम चरणमा पुगेको जानकारी दिइन् । मस्यौदा तयार भएको सहरी विकास विधेयकमा युटिलिटी कोरिडोरको विषय पनि राखेर अन्तिम रुप दिई संसद्को चालु अधिवेशनमै दर्ता गर्न लागिएको मन्त्री झाँक्रीले बताइन् ।

नगर विकास कोषको सङ्गठन संरचनालाई नयाँ स्वरुपमा परिवर्तन गर्न लागिएको जानकारी पनि उनले दिए । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीलाई स्वच्छ र सफा बनाउने अभियानमा पनि मन्त्रालय जुटेको मन्त्री झाँक्रीको भनाइ थियो ।

मन्त्री झाँक्रीले नेतृत्व गरेको मन्त्रालयको चालु आर्थिक वर्षको कूल बजेट ३० अर्ब ८४ करोडमध्ये चालुतर्फ विनियोजित १ अर्ब ९४ करोड रुपैयाँमा ६९ करोड (३५ प्रतिशत) र पुँजीगततर्फ विनियोजित २८ अर्ब ९० करोड रुपैयाँमा ५ अर्ब ८ करोड (१७ प्रतिशत) खर्च भएको जानकारी दिइन् ।

‘वाग्मतीको नयाँ गुरुयोजना बनाउन आवश्यक छ, वाग्मती नदीलाई स्वच्छ बनाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विधेयक मस्यौदा पनि अन्तिम चरणमा पुगेको छ, धापमा निर्माण भएको जलाशयमा यसै वर्षको वर्षादेखि पानी जम्मा गरी वाग्मतीमा हिउँदमा पनि बहाव बढाउने तयारी भएको छ’, उनले भनिन् ।

नेपाल आवास कम्पनी लिमिटेडको प्रबन्धपत्र र नियमावली संशोधन गरेर नयाँ स्वरुप दिने गृहकार्य पनि मन्त्रालयले अघि सारेको छ । लिमिटेडको जग्गामा बसेका १२ हजार ६६० परिवारलाई जग्गाको पुर्जा दिने क्रममा १०० परिवार लाभान्वित भइसकेका छन् । बाँकी परिवारलाई पनि दिने तयारीमा मन्त्रालय लागेको छ ।

दुई वर्षदेखि बैठकसमेत बस्न नसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरण भौतिक विकास समितिका बैठक बसी उपत्यकामा चार नयाँ सहर निर्माणको काम अघि बढाउने निर्णय गरिएको छ ।

समितिको अर्को बैठक बाहिरी चक्रपथ निर्माणको कामसमेत अघि बढाउने तयारी भएको छ । संविधानमा पहिलोपटक समावेश भएको आवासको हक कार्यान्वयनका लागि पनि मन्त्रालयले काम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले नदीको सार्वजनिक क्षेत्रमा अतिक्रमण बढेकाले निर्मम रुपमा प्रस्तुत हुन लागेको बताइन् । नदी किनारमा अव्यवस्थित रुपमा बसेका सुकुम्वासीलाई व्यवस्थित गर्न लागिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले तीनमहिने अवधिमा राउटेलाई आवास निर्माणको सुरुआतदेखि प्रधानमन्त्री निवासको काम सम्पन्न गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ निवासमा सर्नुभएको प्रसङ्गसमेत उपलब्धिका रुपमा रहेको बताइन् ।

‘यस अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको छ’ मन्त्रालयले दिएको विज्ञप्तिमा भनिएको छ । मन्त्री झाँक्री नेतृत्वजको शहरी विकास मन्त्रालयले सामाजिक पूँजीको रुपमा रहेका सामाजिक पूर्वाधारहरू जस्तै अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह जस्ता सामाजिक पूर्वाधार निर्माण कार्य समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया