‘सुपर-मम’ भनेर चिनिने चर्चित बघिनीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३ माघ

काठमाडौं, ३ माघ । भारतमा ‘सुपर–मम’ भनेर चिनिने बघिनी १७ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
२९ वटा डमरुलाई जन्म दिएकी ‘कलरवाली’ नामबाट समेत चिनिने बघिनी भारतको मध्य प्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको हो ।

उसको मृत्युपछि वन्यजन्तु प्रेमीहरुले सामाजिक सञ्जालमा शोक सन्देश लेखेका छन् । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गलगायतले श्रद्धाञ्जली दिएका छन् ।
वनमन्त्री डा. कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको कलरवालीलाई अन्तिम श्रद्धाञ्जली दिन कयौँ मानिस उपस्थित भएका थिए । निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।

यो बघिनीको जन्म सन् २००५ मा पेन्च नेशनल पार्कमा भएको थियो । सन् २००८ मा पहिलो पटक उसले बच्चा जन्माएकी थिइ । सन् २००८ देखि सन् २०२१ सम्म आमा बनेकी कलरवालीबाट २९ वटा डमरु जन्मिए ।

२०२१ को जनवरीमा ३ वटा बच्चा जन्माएकी कलरवालीले सन् २०११ मा भने पाँच वटा बच्चा जन्माएकी थिइ । एकै पटक बाघको पाँच वटा बच्चा जन्मिनुलाई दुर्लभ मानिने पेन्च नेशनल पार्कका अधिकारीले बताएका छन् ।

पेन्च नेशनल पार्कमा सबैभन्दा पहिलो पटक यो बघिनीलाई रेडियो कलर लगाइएको थियो । रेडियो कलरको माध्यमबाट उसको गतिविधि नियाल्ने गरिएको थियो । रेडियो कलर जडानपछि उसलाई कलरवाली नामबाट चिनिने गरिएको थियो ।
बाघको सङ्ख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर–मम’ को ट्याग दिइएको हो ।

प्रतिक्रिया