धर्मशाला सेभेन स्टार होटलजस्तो देखेर म ‘सक्ड’ भएँ : मन्त्री आले
अखबार टुडे
प्रकाशित:
२०७८, २ माघ

काठमाडौं, २ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।

आइतबार पशुपति क्षेत्रमा बतास समूहले संचालन गर्दै आएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू सक भएको बताएका हुन् ।

आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगंगामा धर्मशाला बनाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यसमा भारत सरकारको २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भने, ‘तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ ।’

उनले छानबीन समितिले भोलि प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताउँदै छानबीनको क्रममा दोषी देखिएका जोसुकैलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया